शिक्षामन्त्रीको नजिककी महिलाको घरमा नगद ३० करोड फेला, राजनीति तरङ्गित

एजेन्सी : गैरकानूनी रूपमा आर्जन गरेको धन आफैंसँग राख्दा छानबिनमा परिने डरले नजिकका आसेपासे कार्यकर्ताको जिम्मा राख्ने गरेको फेला परेको छ । भारतको पश्चिम बंगालमा शिक्षा भर्ती घोटालामा शिक्षामन्त्री पार्थ चटर्जीसम्म पुगेको छ । उनका नजिकका कार्यकर्ता अर्पिता मुखर्जीको घरमा ईडीले छापा हानेर ३० करोड रुपैयाँ नगद बरामद गरेको छ । घोटालाबाट मन्त्रीको पार्टी टीएमसीले भने आफूलाई अलग गरेको छ ।

घोटालाको अनुसन्धानलाई नजिकबाट हेरिरहेको र समय आएपछि प्रतिक्रिया दिने टीएमसीले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पश्चिम बंगालको बीजेपीले भने घोटालाई ठूलो मुद्दा बनाएको छ । बीजेपी नेता शुभेन्द्र अधिकारीले ट्वीट गरेर भनेका छन्, ‘अर्पिता मुखर्जीको घरमा ३० करोड भेटिएका छन्, उनी पश्चिम बंगालका शिक्षामन्त्री पार्थ चटर्जीका नजिकका व्यक्ति हुन् ।’ अर्पिताको घरमा करोडौं नगद भेटिएपछि पश्चिम बंगालको राजनीतिमा तरङ्ग पैदा भएको छ ।

यो पनि, बागमती प्रदेशको शीतभण्डार भदौबाट सञ्चालनमा आउने
कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले निर्माण गरिरहेका १० वटा शीतभण्डारमध्ये आठवटा भदौको पहिलो सातादेखि सञ्चालनमा आउने भएका छन् । उक्त शीतभण्डारमध्ये दुई महिनादेखि एउटा सञ्चालन भइसकेको र आठ वटाको भौतिक निर्माण कार्य सम्पन्न भई मेसिन जडान कार्य भइरहेका कारण अब भदौ पहिलो सातामा नै सञ्चालनमा ल्याइने बताइएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. सरोज पाण्डेका अनुसार सरकारले रु ९७ करोड ८३ लाख ६३ हजार लागतमा प्रदेशका १० वटा शीतभण्डार निर्माण सुरु भएको र अब नुवाकोटका दुईबाहेक अन्य सबैमा मेसिन जडान भइरहेको छ । सहकारी संस्था तथा निजी क्षेत्रसँगको साझेदारीमा मन्त्रालयले शीतभण्डार निर्माणको काम अघि बढाएको उहाँले जनाउनुभयो ।

मन्त्रालयले १० वटै शीतभण्डार निर्माणबापत रु ६५ करोड ४८ लाख ६० हजार निर्माण कम्पनीलाई भुक्तानीसमेत दिइसकेको सचिव पाण्डेको भनाइ रहेको छ । चितवनको खैरहनी–६, धादिङको बेनीघाट रोराङ–७, रसुवाको कालिका–२, सिन्धुलीको सुनकोसी–५, सिन्धुपाल्चोकको लिसङ्खुपाखर–७ र इन्द्रावती, दोलखाको जिरी–५, रामेछापको मन्थली, शीतभण्डारको भौतिक निर्माण करिब अन्तिम क्षणमा पुगेको जनाउँदै सचिव पाण्डेले नुवाकोटको विदुर–५ र बेलकोटगढी–१० मा भने ६५ प्रतिशत मात्र काम भएकाले उक्त शीतभण्डार भने छ महिनाभित्र सञ्चालन गरिने बताउनुभयो ।

प्रदेश सरकारले अधिकांश शीतभण्डारको निर्माणका लागि दुई वर्षको समय अवधि दिएर ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७८ मा नै हस्तान्तरण हुनुपर्ने थियो। मन्त्रालयले नुवाकोटको विदुर–५ र बेलकोटगढी–१० मा पाँच हजार मेट्रिक टन क्षमताका शीतभण्डार निर्माणका लागि ५० प्रतिशत र साझेदार संस्था तथा निजी कम्पनीको ५० प्रतिशत लगानी गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

विदुरमा कूल रु १९ करोड ८५ लाख ८१ हजार र बेलकोटगढीमा रु २० करोड ३९ लाख ६८ हजार लागतमा शीतभण्डार निर्माण ठेक्का सम्झौता भएको थियो तर कोरोना महामारीका कारण काम रोक्किएर निर्माण सम्पन्न हुन दुई वर्ष ढिला भएको मन्त्रालयका सचिव पाण्डेले प्रष्ट्याउनुभयो । दुई वर्षसम्म कोरोनाका कारण ठेकेदार कम्पनीले काम गर्न नपाएको विवरणमा उल्लेख भएको जनाउँदै उहाँले अब भने केही दिनमा नै सञ्चालनमा ल्याइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्