बालेनलाई हौस्याउने मीराको त्यो बोली, अनि चल्यो डोजर (भिडियो सहित)

काठमाडौं : काठमाडौं महानगरका मेयर बालेन साहको डोजर अभियानको चर्चा गर्दा छुटाउनै नहुने नाम हो मीरा चौधरी । काठमाडौं उपत्यका ट्राफिक कार्यालयकी प्रमुख डीआइजी मीरा चौधरी जसले बालेनलाई सूचनासँगै बल नदिएको भए बालेनका डोजर अहिले चल्थे या चल्दैनथे यसै भन्न सकिन्नँ ।

मेयर बालेन साहसँगको एउटा बैठकमा डिआइजी मीरा चौधरीले बेसमेन्ट पार्किङको अनधिकृत उपयोग भइरहेको बारे मेयर बालेनलाई सामान्य जानकारी मात्रै गराइनन् कहाँ कहाँ त्यसको कसरी उपयोग भइरहेको छ भन्नेबारे नामै किटेर भनिदिइन् ।

काठमाडौंमा पार्किङ समस्या समाधान गर्ने हो भने अनधिकृत संरचनाप्रति कठोर बन्नैपर्ने सुझाव डिआइजी चौधरीले केही साता अघिदेखि नै मेयर बालेनलाई दिएकी थिइन् । उनकै बलियो साथका आधारमा साउनको पहिलो साता काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउँन र बेसमेन्ट पार्किङ खाली गराउँन गोरखापत्रमा ३५ दिने एउटा सूचना निकाल्यो ।

त्यो सूचना मेयर बालेनले डिआइजी चौधरीलाई धन्यवाद दिँदै डिआइजीसहितको मिटिङमा बाचन गरेका थिए । बालेनको डोजर अभियानमा डिआइजी मीरा चौधरीको साथ यतिसम्म छ कि बालेन र डोजर जाने प्रायः ठाउँ चौधरीले छुटाएकी छैनन् ।

चौधरी आफैं फिल्डमा खटिएर मेयर बालेनको मनोबल उच्च पारिरहेकी छिन् । फिल्डमा बालेनमाथि जाइलाग्नेहरुलाई उनले ठाउँको ठाउँ जवाफ दिने गरेकी छिन् ।

आफूभन्दा जुनियर ट्राफिकहरुलाई खटाएर पनि डिआइजी चौधरीले डोजर अभियानलाई साथ दिन सक्थिन् । काठमाडौंको डोजर अभियान नै आफ्नै प्रस्तावमा अघि बढेका कारण उनी हर ठाउँ आफैं पुगिरहेकी छिन् ।

बेसमेन्ट पार्किङ खाली गराउँन कठोर बन्नुपर्ने आफ्नो प्रस्तावमा सहमत भएका बालेनको मनोबल नगिरोस् भन्नेमा सचेत छिन् । त्यसैले होला बालेन र डोजरसँगै आफूलाई उभ्याउँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्