सार्वजनिक पाेखरी मिचेर बनाइएकाे छाया कम्प्लेक्स भत्काउनुपर्छ : सांसद सुवाल

काठमाण्डाै – सांसद प्रेम सुवालले ठमेलमा सार्वजनिक पाेखरी मिचेर बनाइएकाे व्यापारिक भवन छाया कम्प्लेक्स भत्काउन आवश्यक रहेकाे बताउनुभएकाे छ ।

आज साेमवार प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । भारतको नाेयडामा नियम मिचेर बनाइएकाे गगनचुम्बी ट्विन टावरमा विस्फाेटक पदार्थ राखेर भत्काएकाे उदाहरण हिँदै उहाँले काठमाण्डाैकाे सार्वजनिक ठाउँ कमल पोखरीकाे जग्गा मिचेर बनाइएकाे छाया कम्प्लेस भत्काउनुपर्ने बताउनुभएकाे हाे ।

यस्तै उहाँले त्रिभुवन विश्वविद्यालय तीन वर्षमा तीन सय दिन तालाबन्दी भएकाले तीन वर्षयता प्रधानमन्त्री र शिक्षामन्त्री भएकाहरूलाई स्पष्टीकरण सोध्नुपर्ने बताउनुभयो ।

युद्धको समयमा समेत विद्यालय र विश्वविद्यालय सञ्चालन भएका देशहरू धेरै रहेको उहाँकाे भनाइ छ । सांसद सुवालले चुनाव घोषणा भएपछि संसद् चलिरहने आचार संहिताको उल्लङ्घन भएको गुनासो भएकाले तत्काल संसद् अन्त्य गर्न माग गर्नुभयो । उहाँले उल्लेखित विषयमा सभामुखसँग रुलिङको मागसमेत गर्नुभयो ।

सांसद दिव्यमणि राजभण्डारीले गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुङ्गो लगाउन सरकारसँग माग गर्नुभएको छ । राजभण्डारीले गोरखा सैनिकको मागलाई सरकारले बेवास्ता गरेर दुःखी बनाएकाले तत्काल माग पूरा गर्न माग गर्नुभएको हो । उहाँले भारतमा समेत गोरखा भर्नामा नयाँ नियम बनाइएको बताउनुभयो ।

त्यस्तै सांसद दीपकप्रकाश भट्टले विद्यालयमा काम गर्ने शिक्षकहरूको संस्था नेपाल कर्मचारी परिषद्ले उठाएका मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले विद्यालय व्यवस्थापन र विद्यालयका कर्मचारी दुईतर्फ भइरहेकाले उनीहरूको जायज माग सरकारले तत्काल पूरा गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्