ललितपुरमा चौथो प्राङ्गारिक कृषि मेला

काठमाडौं । अर्ग्यानिक एसोसिएसन नेपाल र कञ्चनजंघा टी–स्टेट एन्ड रिसर्च सेन्टरको आयो जनामा माघ १७ देखि २० गतेसम्म ललितपुरमा चौथो प्राङ्गारिक कृषि मेला २०७६ हुने भएको छ । चार दिन चल्ने मेला भने पाटन संग्राहलयमा हुने छ । मेलाको उद्घाटन कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले गर्ने कार्यक्रम छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गर्दै मेलाबारे जानकारी गराइएको हो ।

नेपालका अर्ग्यानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरूलाई समेत आकर्षित गर्न अन्तर्राष्ट्रिय अर्ग्यानिक एग्रो फेयरको आवश्यकता महसुस गरी मेलाको आयोजना गर्न लागिएको आयोजकको भनाइ छ। मेलाको सह–आयोजकका रूपमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आर्पूति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, सांग्रिला एग्रो वर्ल्ड प्रालि र बाँस्कोटा ग्रुप अफ इन्डस्ट्रिज प्रालि छन् ।

आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हरेक प्राणी एवं मनुष्यका लागि स्वास्थ्य सबैभन्दा पहिलो सर्त रहेछ । अस्वस्थ मानिसबाट परिवार वा समाजले केही अपेक्षा गर्न सक्दैन । घरको एक सदस्य अवस्थ हुँदा पुरै परिवारलाई त्यसको नकारात्मक असर पर्छ । जल, जंगल, जमिन र जीवनलाई सुरक्षित राखी समाजलाई स्वास्थ्य राख्न उत्पादनदेखि नै ध्यान दिनु आवश्यक भएकोले सबै प्रकारका कृषि उत्पादनहरू जैवीक र वैदिक हुन पर्छ ।

जसको सेवनबाट मानिस निरोगी हुन सकोस भन्ने यो मेलाको उद्देश्य रहेको छ ।’ कार्यक्रममा मेलाकी संयोजक शान्ता बास्कोटा कोइरालाले ५० भन्दा बढी स्टल रहने जानकारी दिइन् । उनका अनुसार त्यस सम्बन्धमा नेपालभित्र विभिन्न स्थानका अर्ग्यानिक उत्पादक व्यवसायीहरूसँग समन्वय गरिएको छ । उनले मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्राङ्गारिक मल, च्याउ, डेरी उत्पादन, हर्बल उत्पादनहरू, मसलाहरू, चामल, गहुँ, मकै, दाल, फापरलगायत अन्य उत्पादनहरू, फलफूल, बीउ–बिजन, मह, तेल, राडी, पाखीलगायत रहने जानकारी दिइन् । आयोजकका अनुसार मेलामा ३० लाख रुपैयाँ खर्च हुने अनुमान छ । साथै १ करोडको कारोबार हुने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्