सगरमाथा चढ्ने पहिलो लेबनानी महिला भन्छिन- “नेपाल नघुमे जीवन सार्थक हुँदैन”

यूएई : सगरमाथाको सफल आरोहण गरेकी पहिलो लेबनानी महिला फतिमा डेरयानले जीवनकालमा एक पटक नेपाल नघुमे जीवनको सार्थकता नहुने बताउनु भएको छ । नेपाल पर्यटन वर्ष २०२० को उद्घाटन समारोहलाई यूएईमा सम्बोधन गर्दै उहाँले सगरमाथा आरोहणका अनुभव सुनुउनु भयाे । फतिमाले सगरमाथा चढेको दिन आफूले आफ्नो जीवनकै महत्वपूर्ण क्षण भएको उल्लेख गर्नुभयो ।

उहाँले नेपालीको मन सगरमाथा जस्तै उचो भएकाले पनि नेपाल घुम्न जान विदेशी समुदायलाई आग्रह गर्नुभयो । सगरमाथा चढ्ने बेला शेर्पा दाजुभाइले गरेको सहयोग सम्झँदै कठिन यात्रामा नेपालीहरु कति सहयोगी हुन्छन् भन्ने कुरा त्यतिबेला आफूले बुझेको फतिमा ले स्मरण समेत गर्नुभयो । नेपाल घुम्ने बेला सगरमाथाको फेदमा गरेको पूजा र त्यही बेला लगाएको घाँटीको माला देखाउँदै आफूलाई त्यो मालाले शक्ति प्रदान गरिरहेको बताउनुभयो ।

नेपाल पर्यटन वर्षको अवसरमा यूएई सरकारका उच्चपदस्थ अधिकारी तथा यूएईमा रहेका विभिन्न क्षेत्रका विदेशी प्रतिनिधिहरुको उपस्थितिमा नेपाली दूतावास यूएईले मंगलबार साँझ आबुधाबीमा गरेको कार्यक्रमको प्रमुख अतिथिको रुपमा आमन्त्रित फतिमालाई नेपाली दूतावासले सम्मान समेत गरेको थियो । कार्यक्रममा यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले फतिमालाई नेपाली कोसेली तथा चिनो सहित सम्मान पनि गर्नुभयाे ।

नेपाल भ्रमण वर्षको अवसरमा नेपाल पर्यटन बोर्डले निर्माण गरेका वृत्तचित्र, फोटो प्रदर्शनी, सुदूर पश्चिमको छलिया नाच, कुमारी नाचसमेत प्रस्तुत गरिएको थियो । उपस्थित पाहुनालाई नेपाल भ्रमण वर्ष लेखिएका हाते झोलामा नेपाली कोसेली समेत प्रदान गरिएको थियो । गएको मे २२ मा सगरमाथा आरोहण गरेकी २६ वर्षीया अरबी युवती फतिमाले कार्यक्रममा सम्बोधन गरेलगत्तै उहाँलाई बिदेशी पाहुनाले भेटेर नेपाल र सगरमाथा बारे जिज्ञासा राखेका थिए ।

नेपाल भ्रमण वर्षलाई सहयोग पुग्नेगरी आयोजित कार्यक्रममा नेपाल भ्रमण गर्ने लक्षित समुदाय अन्तर्गत विश्व विद्यालय, होटल तथा पर्यटन व्यवसायी, एयरलाइन्स, विदेशी लगानी कर्ता तथा नेपाली समुदायका प्रतिनिधिहरु समेत गरेर झन्डै एक सय जनाको उपस्थिति थियो । कार्यक्रममा स्थानीय सञ्चारमाध्यमका सम्पादकहरुको समेत सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्