६ महिनाको हुँदा आमा बित्नुभयो, आमाको मामिलामा म अभागी थिएँ !

काठमाडौं : नेपाली मनोरञ्जन क्षेत्रका एक सिद्धहस्त कलाकार हुन् मदनकृष्ण श्रेष्ठ । उनको अर्को परिचय चर्चित मह जोडीका एक सदस्य पनि हो। उनी अर्का कलाकार हरिवंश आचार्य सँगको कला सहयात्रामा दशकौँ देखि जोडिएका छन्। नेपाल राष्ट्र बैंकमा राजा वीरेन्द्रसामु गरेको प्रस्तुतिबाट जोडिएको सहयात्रा अहिले उत्तिकै मजबुत छ।

मदनकृष्ण र हरिवंश ‘मह जोडी’ नामले देशदेखि विदेशसम्म प्रख्यात छन्। कला क्षेत्रमा जम्न अन्य कयौँ कलाकार जोडी बनेर आए तर केही वर्ष पनि टिकेनन्। तर मह जोडी हरेक उमेर समूहका नेपालीमाझ उत्तिकै चर्चित छन्। महका एक पात्र उनै वरिष्ठ मदन कृष्ण श्रेष्ठसँग फरकधारकर्मी राधिका अधिकारीले कुराकानी गरेकी छिन ।

कुराकानी बाल्यकाल सम्झदै मदनकृष्णले भनेका छन्- बाल्यकालमा पनि म अहिले जस्तो छु, त्यस्तै नै थिए। त्यो बेला अलिक बढी फुर्किने। दौडिने, चन्चलेपन त भइहाल्छ। तर, म अलिक गम्भीर गम्भीर स्वभावको थिए । म सम्पन्न परिवारमा जन्मिएको हुँ । टन्नै जग्गा थियो। ६ महिनाको हुँदा आमा बि’त्नुभयो, आमालाई चिन्दिनँ। मलाई बुवाले हुर्काउनु भएको हो। आमाको मृ,त्युपछि बुवाले कान्छी आमा ल्याउनुभयो। उहाँको पनि मृ,त्यु भयो।

तेस्रो बिहे गर्नु भयो। तेस्रो बिहे पनि बुवालाई फापेन। आमाको मामिलामा म अभागी थिएँ। बुवाले चौथो बिहे गर्नु पर्यो । चौथो आमासँग सम्बन्ध सधैँ सुमधुर रह्यो । भाइबहिनी पनि भए। उनीहरुले पनि सधैँ आदर गरे। माया गरे, चिन्ता गरे। बुवा सोसल वर्कर हुनु हुन्थ्यो। घरमा ठूला मान्छे आइरहन्थे। सधैँ जुत्ता टनाटन भइरहन्थे पाहुनाका। उनीहरु विभिन्न समस्या लिएर आउँथे।

बुवा ती समस्या समाधानका उपाय दिइरहनु हुन्थ्यो। झगडा परेको भए झगडा मिलाइदिनुहुन्थ्यो। घरमा आएकालाई राम्रोसँग, खुशी भएर खुवाउनु हुन्थ्यो। त्यो समय आम्दानी भन्दा खर्च बढी हुन्थ्यो । आम्दानीको बाटो बनाएर सामाजिक काम नगर्दा आम्दानी बि’ग्रिँदै जान्छ। त्यस्तै भएको थियो हाम्रो घरमा। पहिला अरुलाई ऋण दिने मेरा बाको एकोहोरो सामाजिक कामले खेती गर्न पनि अरूसँग ऋण लिनुपर्ने अवस्था आएको थियो।

त्यसैले मैले बच्चैबाट जागिर खानु पर्यो। मैले चौध वर्षको उमेरमा प्राविको हेडमास्टर भएर पढाएँ। त्यो समय म आफैं ९ कक्षामा पढ्थेँ। त्यो बेला उमेरको बन्देज केही थिएन। स्कुलका बच्चाहरुका लागि प्रश्नपत्र बनाउने, जाँच लिने, कापी जाँच्ने सबै काम गर्थे । त्यो बेला मार्कसिट पनि आफैँले लेखेर बनाउने हो। स्काउट सिकाउँथे। बस्तीमा आफ्ना विद्यार्थीलाई स्काउटको ड्रेसमा ‘लेफ्ट राइट…’ गर्दै लिएर जान्थेँ । अभिभावकहरु खुशी हुन्थेँ ।

उनीहरु खुशी भएको देखेर के–के न गरेछु जस्तो लाग्थ्यो। त्यो बेला बिहान ४ बजे खाना खान्थेँ। ६ बजेदेखि जिपी स्कुलमा आफू पढेर स्कुल पढाउन जान्थेँ। म पढ्न मन पराउने खालको थिएँ। तर, पढाइ भने भद्रगोल थियो । दिनभर पढाएर डेढ घण्टा हिडेर घर जान्थेँ । घर पुग्दा थाकेर लखतरान, अनि भुसुक्क निदाउँथे। राति ९ बजेतिर बुवा, फुपूहरूले उठाउनु हुन्थ्यो खाना खान। कहिलेकाहीँ त खाना खाए, नखाएको पनि बिर्सन्थेँ, यो क्रम २ वर्ष चल्यो।

१६ वर्षको उमेरमा सञ्चय कोषमा जागिरे भएँ। अहिले कर्मचारी सञ्चय कोषमा जागिर खान कति गाह्रो छ। मेरो पालामा कति सजिलो थियो। बुवाले प्रशासनमा मान्छे चिन्नु भएको थियो। भनिदिनु भयो। जाँच दिएँ। १० वटा प्रश्न सोधिएको थियो। ६ वटा मिलाएँ । त्यस पछि जागिरे भएँ। सञ्चय कोषमा १२ वर्ष जागिर खाएँ। यी यावत कुराले बाल्यकालका स्वतन्त्रता र त्यससँगै आउने रहर खोसिए कि जस्तो लाग्छ।

प्रतिक्रिया दिनुहोस्