ओलीले कारबाही गर्ने सूचना पाएपछि नेपाल-खनाल समूहले डाक्यो आकस्मिक बैठक

काठमाडौं। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः कारबाही गर्ने संकेत देखाए पछि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आफूनिकट सांसदहरुको आकस्मिक बैठक डाकेको छ। कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा ‘फ्लोर क्रस’ गरेर मत दिन लगाएको आरोपमा अध्यक्ष ओलीले नेपाल–खनाल समूहलाई पुनः स्पष्टीकरण सहित कारबाही अघि बढाउने भए पछि बैठक डाकिएको हो ।

बैठक नयाँ बानेश्वरस्थित अर्याल होटेलमा बस्ने बताइएको छ । पार्टीको ह्वि विपरीत मत दिएको आरोपमा आज मंगलबार अध्यक्ष ओलीले नेपाल–खनाल सहित २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोधेका छन् । कर्णाली प्रदेशझैँ कांग्रेसको नेतृत्वमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भएको सूचना पाए पछि अध्यक्ष ओलीले स्पपटीकरणसहित कारबाहीको प्रक्रिया अघि बढाइएको बताइएको छ। एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार उनीहरूलाई स्पष्टीकरण पत्र पठाइसकिएको छ । भट्टराईका अनुसार नेपाल–खनाल समूहलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ ।

अध्यक्ष ओलीले नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, झपट रावल, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोम प्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जय कुमार राईलाई स्पष्टीकरण सोधिएको छ । यसैगरी गणेश पहाडी, दिपकप्रकाश भट्ट, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, नीरादेवी जैरु, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, मुकुन्द न्यौपानेलाई पनि स्पष्टीकरण सोधिएको छ ।

प्रतिक्रिया दिनुहोस्