त्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधि नेपाललाई : नेदरल्याण्ड्स १ सय ४२ रनले पराजित

काठमाण्डाै : त्रिदेशीय टी–ट्वान्टी क्रिकेट शृङ्खलाको उपाधि नेपालले जितेको छ । फाइनलमा नेदरल्याण्डस्लाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो । कीर्तिपुरमा मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ३८ रन बनायो । जीतका लागि २ सय ३९ रनको लक्ष्य पाएको नेदरल्याण्डस् १७ ओभर २ बलमा ९६ रनमा समेटियो ।

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । नेपालका कुशल भुर्तेल र कुशल मल्लको अर्धशतकको मद्दतमा नेपालले उच्च रन बनाएको हो । भुर्तेल ५३ बलमा ७७ रन बनाएर आउट भए । भुर्तेलले डेब्यु शृङ्खलामा नै चार अर्ध शतक बनाएका छन् । कुशलले खेलेका पाँच खेलमध्ये नेदरल्याडस्सँगका तीन खेलमा क्रमशः ७७, ६३ र ६२ तथा मलेसियासँगको दुईमध्ये एउटा खेलमा ६१ रन बनाएका हुन् ।

त्यस्तै आजको खेलमा कुशल मल्ल २४ बलमा ५० रन बनाउँदै नटआउट रहे। मल्लले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाएका हुन्। दिपेन्द्रसिंह ऐरीले १८ बलमा ४८ रन बनाएर नटआउट रहे।यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आशिफ शेखले ८ बलमा १६ रन बनाएर आउट भए । नेपालले यसअघि सन् २०१९ को साग गेममा भुटानसँगको खेलमा दुई सय ३६ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्