एमालेका दुई पक्ष ओली-नेपालको वार्ता सकियो

काठमाडौं : एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षको बैठक सकिएको छ। बैठकपछि नेपाल पक्षीय नेताहरू सौहार्दपूर्ण रुपमा वार्ता भएको प्रतिक्रिया दिएका छन् । पार्टीलाई एकता बद्ध बनाउनेबारे छलफल भएको बैठकमा सहभागी एमाले नेता रघुजी पन्तले बताए। अर्का नेता भीम रावलले २०७५ जेठ २ गते अगाडिको विषयलाई आधार मानेर सहमति गर्नेबारे छलफल भएको जानकारी दिए।

‘हाम्रो पार्टीको एकतालाई कायम राख्न र पार्टीलाई अगाडि बढाउन गम्भीरतापूर्वक छलफल गर्‍यौं। त्यसको लागि २०७५ जेठ २ गते भन्दा अगाडिको कुरालाई आधार मानेर अरू छलफल अगाडि बढाउने कुरा भएको छ,’ उनले भने, ‘त्यो प्रयोजनको लागि प्रधान मन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले कार्यदलका सदस्यको नाम तय गर्ने कुरा भएको छ र तुरुन्तै वार्ता गर्ने सहमति समेत भएको छ।’

वार्तामा ओलीसहित उनी पक्षका नेताहरू ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पाैडेल, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी थिए। त्यसैगरी, एमाले वरिष्ठ नेता नेपालसँगै उनको पक्षबाट स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी थिए। वार्तामा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्