काे मन्त्री आयाे र काे मन्त्री गयाे हेर्ने हाेइन, काममा ध्यान दिनुस् : नवनियुक्त मन्त्री थापा

काठमाण्डाै – नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले मन्त्रालयमा को मन्त्री आयो, को मन्त्री गयो भनेर नभइ मन्त्रालयकाे काममा ध्यान दिन कर्मचारीहरूलाई निर्देशन दिनु भएको छ । बिहीवार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री थापाले मन्त्रीभन्दा मन्त्रालयको काममा कर्मचारीहरूको ध्यान जानुपर्ने बताउनुभयो ।

सरकार र सरकारको योजना सफल बनाउन सञ्चार मन्त्रालयको महत्त्व पूर्ण भूमिका रहेको भन्दै मन्त्री थापाले नागरिकलाई सूचना प्रविधिको पहुँचमा लैजान आवश्यक रहेको बताउनु भयो । परिचयात्मक कार्य क्रममा बोल्दै मन्त्री थापाले समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार बनाउन मन्त्री, कर्मचारी भएर काम गर्न आफू सधैँ खुला रहेको उहाँले स्पष्ट पार्नुभयो ।

सरकारको प्रवक्ताको जिम्मेवारी नवनियुक्त सञ्चार तथा सुचना प्रविधिमन्त्री नैनकला थापाले पाउनु भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रवक्ताको जिम्मेवारी तोकेको एक मन्त्रीले जानकारी दिए । मन्त्री थापा यसअघि राष्ट्रिय महिला आयो गको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ निवर्तमान गृह मन्त्री रामबहादुर थापाकी पत्नी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्