विरोधीहरुले सरकारको राम्रो कामको पनि विरोध गरे : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विरोधीहरुले सरकारको राम्रो कामको पनि विरोध गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले सरकारले जनताका लागि निकै राम्रा काम गरेपनि विरोधीहरुले त्यसलाई देख्न नसकेको तर्क गरेका हुन् ।

उनले अहिले आएको बाढी पनि सरकारकै कारण आएजस्तै प्रचार गरिएको धारणा राखे । प्रधानमन्त्री ओलीले बाढी पिडित जनताका लागि आवास लगाएतका सवै व्यवस्था सरकारले गर्ने बताए । त्यस्तै उनले आफू नयाँ जनमत लिन जनताको माझमा जान निर्वाचन घोषणा गरिएको तर विपक्षी दलहरु भने निर्वाचनदेखि अतालिएको बताए । संसारमा कुनै पनि राष्ट्रमा अदालतबाट बनेको सरकार दीगो र सफल हुन नसकेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले चूरेको बिनास नभइ संरक्षण गर्न सरकारले उचित व्यवस्था गरेको तर्क गरे । चूरे बिनास गर्ने सरकारको कुनै उदेश्य नरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले खानीको मात्र उचित प्रयोग गर्ने जिकिर गरे। बैठकमा ओलीले बाढी पहिरोबाट घाइ तेहरुको उपचारको ब्यवस्था सरकारले गर्ने, क्षतिको मूल्याङ्कन गरेर उचित राहतका लागी लागि गृहमन्त्रालयले पहल गर्ने बताए ।

उनले रेस्क्यू गर्दा अपाङ्गता भएका जेष्ठ नागरिक बालबालिका गर्भवती महिलालाइ प्राथमिकतामा राख्न निर्देशन दिए। बैठकमा बिपक्षी दलका नेताहरु भने सहभागी भएनन् । परिषदमा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलगायत सदस्यका रूपमा रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्