मेस्सीलाई पहिलो अन्तर्राष्ट्रिय उपाधि !

एजेन्सी : अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले आफ्नो करिअरको पहिलो औपचारिक अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । राष्ट्रिय टोलीबाट पाँचौ फाइनल खेलेका मेस्सीले शनिबार कोपा अमेरिकाको उपाधि जित्न सफल भएका हुन् । व्यावसायिक फुटबलमा सफलता हासिल गरेको मेस्सीले राष्ट्रको लागि १५ वर्ष खेल्दा भने कुनै पनि ठुलो प्रतियोगिताको उपाधि जित्न सकेका थिएनन् ।

यसपटक मेस्सीकै कप्तानीमा कोपा अमेरिकाको फाइनल पुगेको अर्जेन्टिनाले फाइनलमा ब्राजिललाई १-० ले पराजित गर्दै उपाधि जितेको हो । ३४ वर्षीय मेस्सीले अर्जेन्टिनाबाट १५१ खेलमा ७६ गोल गरेका छन् । मेस्सी कै कप्तानीमा अर्जेन्टिना २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा पुगेको थियो । त्यसअघि उनी टोलीमा रहँदा सन् २००७ मा पनि अर्जेन्टिना कोपाको फाइनलमा पुगेको थियो ।

तर, चारैपटक अर्जेन्टिना फाइनलमा निराश बन्दा मेस्सीले राष्ट्रबाट उपाधिको स्वाद चाख्न पाएनन् । अर्जेन्टिना २००७ मा ब्राजिलसँग ३–० ले तथा २०१५ र २०१६ मा चिलीसँग स्तब्ध भएको थियो । २०१४ को विश्व कपमा अर्जेन्टिना अतिरिक्त समयमा जर्मनीसँग अति रिक्त समयमा १–० ले पराजित हुदै उपाधिबाट वञ्चित बनेको थियो ।

यसपटक कप्तान मेस्सीले अर्जेन्टिनालाई उपाधि दिलाउन गजबको प्रदर्शन गरे । उनले ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका थिए। अर्जेन्टिनाले गरेको १२ मध्ये ९ गोलमा उनको प्रत्यक्ष भुमिका रहेको थियो । अर्जेन्टिना सन् १९९३ पछि चार पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको थिएन । अर्जेन्टिनाले २८ वर्ष लामो उपाधिको खडेरी पनि तोडेको छ ।

प्रतिक्रिया दिनुहोस्