थ्री नेसन्स कप फुटबल विजेता खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार

काठमाडौं : दशरथ रंगशालामा चैतमा थ्री नेसन्स कप विजेता राष्ट्रिय फुटबल टोलीका सदस्यलाई सरकारले आइतबार नगद पुरस्कार प्रदान गरेको छ । प्रधानमन्त्री निवास बालुवा टारमा प्रधानमन्त्री केपी ओलीले २३ खेलाडी र ३ प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरे । खेलाडीले जनही ४ लाख, मुख्य प्रशिक्षक बालगोपाल महर्जन, प्रशिक्षक किरण श्रेष्ठ र गोल किपर प्रशिक्षक विकास मल्ले समान २ लाख रुपैयाँ प्राप्त गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का एक सदस्य समेत रहेका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए ।

नेपाली टोलीले चैत १६ गत बंगलादेशलाई २–१ ले हराउँदै थ्री नेसन्स कप जितेको केहि दिनपछि सरकारले टोलीका खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । प्रतियोगितामा अर्को टोलीका रुपमा कीर्गिस्तानको यू २३ टोलीले भाग लिएको थियो ।विश्व कप छनोटका ३ खेल दशरथ रंगशालमा चैतका लागि तय भएपनि कोराना महामारीका कारण नेपालबाट कुवेत सारिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कप आयोजना गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशाला पुगेर फाइनल हेरेका थिए । समापनका क्रममा खेलाडीहरुले ‘केपी बा वि लभ यु’ भन्दै नारा लगाएका थिए। कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साफ च्याम्पियनसिप आयोजनाका लागि प्रक्रिया अघि बढाउन राष्ट्रिय खेलकुद परिषद् र एन्फालाई स्वीकृती दिएका थिए । सेप्टेम्बर दोस्रो सातामा (असोज पहिलो साता) बंगलादेशमा हुने भनिएको प्रतियोगिता विविध कारणले गर्दा सम्भव नहुने भएपछि नेपालले आयोजनाका लागि इच्छा देखाएको छ ।

अब बंगला देशले आयोजना नगरेको खण्डमा नेपालले नै आयोजना गर्ने सम्भावना बढेको छ । प्रधानमन्त्री ओलीले दशैंको बेलामा पर्ने हुनाले खेलाडीले साफ जितेर दशैं मनाउन पाउने बताएका थिए । उनले नेपालले खेल्न नभएर जित्नका लागि साफ च्याम्पियनसिप आयोजना गर्ने समेत जनाए । खेलाडीहरुले प्रधानमन्त्री ओलीले साफ आयोजना गर्न भनेसँगै ताली बजाएर निर्णयको स्वागत गरेका थिए ।

सरकारबाट नै स्वीकृति पाएपछि अब नेपालले यसै साता हुने साफ बैठकमा आयोजनाको प्रस्ताव लाग्ने बुझिएको छ । भुटानले सेप्टेम्बरमा नै साफ च्याम्पियनसिप भएको अवस्थामा सहभागी हुन नसक्ने मौखिक जानकारी दिएको छ । त्यस्तै पाकिस्तान पनि फिफाबाट प्रतिबन्धमा रहेका कारण सहभागी हुने छैन । यस्तो अवस्थामा बढीमा ५ राष्ट्रले साफमा प्रतिस्पर्धा गर्ने देखिन्छ ।

गत वर्ष नै बंगलादेशले आयोजना गर्ने भनिएको प्रतियोगिता कोरोना संक्रमणका कारण एक वर्ष पछि धकेलिएको थियो । यसपटक सेप्टेम्बरमा नै प्रतियोगिता आयोजना भएपनि राजधानी ढाकामा नहुने बंगलादेश फुटबल संघले यसअघि नै जनाएको छ। बंगबन्धु अन्त र्राष्ट्रिय रंगशालाको पुनर्निर्माण जारी रहेका कारण सिल्हेट वा चटगाउँमा प्रतियोगिता हुने सम्भावना रहेको साफका महसचिव अन्वरुल हकले जानकारी दिएका थिए ।

पछिल्लो समय भने कोरोना संक्रमण वृद्धि र प्रायोजक नपाएपछि बंगलादेशमा नहुने सम्भावना बढेको हो । नेपालले सेप्टेम्बरमा नै साफ आयोजना गर्ने भन्दै राष्ट्रिय टोलीको तयारी सुरु गरिसकेको छ। सेप्टेम्बरमा फिफाको अन्तर्राष्ट्रिय खेलका लागि विन्डो रहेकाले पनि अन्य ५ देशले नै खेल्ने सम्भावना छ ।

पछिल्लो पटक नेपालले सन् २०१३ मा दशरथ रंगशालामा साफ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यति बेला नेपाल सेमिफाइनल सम्म पुगेको थियो । नेपालले अहिले सम्म साफ च्याम्पियनसिपको फाइनल पुग्न सकेको छैन । सेमिफाइनलसम्म पुग्नु नै नेपालको अहिले सम्मको उच्च प्रदर्शन हो । पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमै आयोजना हुँदा पनि नेपाल सेमिफाइनल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्