फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने अलमुताइरीको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिने बताएका छन् । उनले आफूलाई विगत तीन सातादेखि वरिष्ठ उपाध्यक्षले काम गर्ने वातावरण नदिएका कारण राजीनामा दिन लागेको बताएका छन् । अलमुताइरी नेपाल आएको लामो समय भएको छैन ।

उनले आफ्नो फेसबुकमार्फत आफू राजीनामा दिन एन्फा जाने बताएका छन् । उनले लेखेका छन्, “विगत तीन साता देखि मलाई वरिष्ठ उपाध्यक्षले काम गर्ने कुरामा सहज वातावरण दिएका छैनन् । त्यसैले मैले राजीनामा दिने निर्णय गरेको छु ।” अलमुताइरीलाई कतार फुटबल एसोसिएसनले प्रशिक्षकको रुपमा बोलाएको हो । उनी एक वर्षका लागि नेपाल आएका हुन् ।

अलमुताइरी नेपाली टोलीमा प्रो–लाइसेन्सप्राप्त पहिलो प्रशिक्षक हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल कमिटीले कुवेतका अब्दुल्लाहलाई प्रशिक्षक नियुक्त गर्न सिफारिस गरेपछि उनलाई प्रशिक्षकको जिम्मेवारी दिइएको थियो। अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक चाहिने नियम ल्याएको थियो।

जसका कारण नेपालले प्रो लाइसेन्स प्राप्त अब्दुल्लाहलाई प्रशिक्षक बनाएको थियो । विश्व कप छनोट अन्तर्गत नेपालले गत महिना तीन खेल खेलेको थियो । उनको प्रशिक्षणमा नेपालले विश्वकप छनोटमा चाइनिज ताइपेईलाई हराउदा अस्ट्रेलिया र जोर्डनसँग प’राजय भोगेको थियो। त्यसअघि उनको प्रशिक्षणमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो।

प्रो-लाइसेन्स प्रशिक्षक तथा एएफसी कोचिङ इस्ट्रक्टर अब्दुल्लाहलाई नेपाल ल्याउनका लागि एन्फा र कतार फुटबल एसोसिएसन बीच सम्झौता भएको थियो। यसअघि अब्दुल्लाहले कतारको अल सहनी फुटबल क्लबको यु-२३ टिमलाई प्रशिक्षण दिएका थिए । यस्तै उनी किर्गिस्तानको यु-१७ टिमका प्रशिक्षक समेत रहेका थिए। उनीसँग साउदी अरेबिया र कुवेतका विभिन्न क्लबको प्रशिक्षक भएर काम गरेको अनुभव पनि छ।

प्रतिक्रिया दिनुहोस्