अ’रुका नाममा आइपिओ भर्नेहरू पत्ता लगाउन स’फ्टवेयर बन्दै

काठमाडौं : अरुकै नाममा आइपिओ भरेर नाफा लिने प्रवृत्ति हटाउन सिडिएस एण्ड क्लियरिङले नयाँ सफ्टवेयरको विकास गर्दैछ। नयाँ सफ्टवेयर विकासका लागि परेको टेन्डर आह्वानमा ३ वटा कम्पनी ‘सर्टलिस्ट’मा परेका छन्। ‘ती मध्ये अब एउटा कम्पनी छनौट गरेर उसँग सम्झौता हुनेछ’ सिडिएससीका सिइओ पूर्णप्रसाद आचार्यले भने।

सम्झौतापछि ३–४ महिनाको समयभित्र कम्पनीले तोकिएका विशेषतासहितको सफ्टवेयर तयार गरी सिडिएससीलाई परीक्षण गर्न दिनेछ। सिडिएससीले शर्त, तोकिएका विशेषताअनुसार भए÷नभएको अध्ययन गरेर सफल भइसकेपछि डिम्याट खाता संचालन गर्ने कम्पनी हरु (डिपी)लाई सफ्टवेयर हस्तान्तरण गर्नेछ। निश्चित शुल्क लिएर सिडिएससीले डिपीसँग सम्झौता गर्नेछ।

सो सफ्टवेयरमा डिपीहरुले ग्राहकको केवाइसी विवरण भरेपछि सिडिएससीको सिस्टममा आई स्टोरेज हुनेछ। उनका अनुसार अब केवाइसी विवरणलाई अझ विस्तृत बनाइने छ। हालसम्म डिम्याट खाता खोलेकाहरु पनि एक पटक निक्षेप सदस्य (डिपी)मा आफै उप स्थित भएर केही थप विवरण प्रमाणित गर्नुपर्नेछ। त्यतिबेलै अरुका नाममा डिम्याट खाता खोलेकाहरु पत्ता लाग्नेछ।

नयाँ सफ्टवेयरले फोटो र व्यक्ति पहिचान गर्ने उच्च क्षमता राख्नेछ। यसले गर्दा नागरिकताको फोटोअनुसारको व्यक्ति उपस्थित भएको हो/होइन भन्ने पनि धेरै हदसम्म पत्ता लाग्ने आचार्यले बताए। त्यस्तै मेसिनबाटै ग्राहकले ल्याप्चे समेत लगाउने छन्। प्रमाणित भएका व्यक्तिहरुको डिम्याट खाता संचालन हुनेछ भने प्रमाणित हुन नसकेका व्यक्तिको डिम्याट खाता निश्चित समयपछि हटाउने व्यवस्था गरिनेछ।

केन्द्रिकृत रुपमा ग्राहकको विवरण सिडिएससीसँग पनि हुनेछ। ग्राहकलाई पटक पटक केवाइसी भर्नु पर्ने बाध्यता हुँदैन। पछिल्लो समय अरुका नामबाट आइपिओ भर्नेहरु केही निरुत्साहित हुँदै गएका छन् । सिडिएससीका अनुसार हालसम्म ३७ लाख ६७ हजारको डिम्याट खाता खुलेको छ। तर केही खाता नवीकरण नै नभएको अवस्था रहेको आचार्यले बताए। आइपिओ भर्नेको संख्याले पनि यसलाई पुष्टि गर्दछ।

प्रतिक्रिया दिनुहोस्