सानिमा लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं : सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणका लागि ६० लाख कित्ता सेयर जारी गरेको थियो। जसमा संस्थापक १ करोड ४० लाख कित्ता जोडेर २ करोड कित्ता सेयर सूचीकृत भएको नेप्सेले आफ्नो वेबसाइट मार्फत जानकारी दिएको छ। कम्पनीको सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम आज सूची कृत भएको हो । यो सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट अर्थात भोलि १६ गतेबाट कारोबारमा आउने छ । लाइफको आईपीओको ओपनिङ रेञ्ज न्यूनतम १०३ र अधिकतम ३०९ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा सामान्य सुधार : बुधबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । पछिल्लो २ कारोबार दिनमा ११८.२३ अंक घटेको नेप्से, यस दिन झिनो अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १.१४ अंक बढेर २९७६.९८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.११ अंक घटेको छ।

यस दिन कारोबार अवधिमा ३०१८ विन्दुसम्म पुगेको थियो। यस दिन बजारमा देखिएको झिनो सुधारलाई ‘डेड क्याट बाउन्स’ हो कि भन्ने आशंका गरिएको छ। यस दिन भोल्युमले साथ नदिएका कारण बजारको वृद्धि कमजोर मानिएको उनीहरुको भनाइ छ । यस दिन नेप्से बढेपनि भोल्युम भने घटेको छ। अघिल्लो कारोबार दिन १३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ९ अर्बको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्