नेप्से १ सय ८ अंकले घट्यो, २ सय ९ वटा कम्पनीको शेयर राताम्मे

काठमाडौं : आइतबार १२ः ५९ बजे सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ५ प्रतिशतले अर्थात १४७ अंकले घट्यो र सर्किट ब्रेकर लाग्यो। सर्किट ब्रेकर लागेको ४० मिनेटपछि फेरि खुलेको बजार भने सम्हालियो । अन्ततः यस दिन सेयर बजारको गिरावट १०८ अंक अर्थात ३.७ प्रतिशतमा सीमित रह्यो। परिसूचक २८१८ अंकमा कायम भएको छ।

११ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सबै समूहहरु घटेका छन्। बैंकिङ ४४, विकास बैंक ३९४, फाइनान्स २३९, होटल तथा पर्यटन १६१, जलविद्युत २१६, लगानी समूह ४, जीवन बीमा ५११, उत्पादन १७५, माइक्रोफाइनान्स १६२, निर्जीवन बीमा ५१९, अन्य ८३ र ब्यापार समूह २१६ अंकले घटेका छन्। यस दिन सानिमा लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।

हालै बजारमा सूचीकृत भएको यस कम्पनीको मूल्य प्रतिकित्ता ३७३ रुपैयाँ पुगेको छ। मनकामना स्मार्ट लघुवित्तको मूल्य ४ प्रतिशतले बढेको छ। यसको मूल्य प्रतिकित्ता ५२३ रुपैयाँ कायम भएको छ । यस दिन दुई दर्जन कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ।

नारायणी डेभलपमेन्ट,गुडविल फाइनान्स, जानाकी फाइनान्स, अरुण काबेली, आइसिएफसी फाइनान्स, युनिभर्सल पावर, समृद्धि फाइनान्स, रिलायन्स फाइनान्स, सिइडिबी हाइड्रोपावर,रुरु हाइड्रोपावर, नेपाल फाइनान्स, हिमालय उर्जा विकास, बेष्ट फाइनान्सको मूल्य १० प्रतिशतले घटेको छ। त्यस्तै माउन्टेन हाइड्रो, ग्रिनलाइफ हाइड्रो, एभरेष्ट इन्स्योरेन्स संस्थापक, पाँचथर पावर, दिव्यश्वरी हाइड्रो, घलेम्दी हाइड्रो, पन्च कन्या माइ हाइड्रो, लिबर्टी इनर्जी, सिन्धु विकास बैंक, अपि पावर र श्री इन्भेष्ट मेन्ट फाइनान्सको मूल्य करिब १० प्रतिशतले नै घटेको छ।

प्रतिक्रिया दिनुहोस्