बलिउड अभिनेता अनुपमले दिए लुक्लाका बालबालिकालाई आमाले बुनेका स्वेटर

काठमाडौं । बलिउड अभिनेता अनुपम खेर यतिबेला बलिउड चलचित्र ‘उचाइ’ को छायांकनका लागि नेपालको लुक्लामा छन् । लुक्लामा रहेका उनले त्यहाँका केही स्थानीय बालबालिकालाई भारतबाट ल्याएको उपहार दिएका छन्। अनुपमले स्थानीय बालबालिकालाई आफ्नी आमा दुलारी खेरले आफ्नै हातले बुनेका स्वेटरहरू उपहार दिएका हुन् ।

बालबालिकालाई स्वेटर दिँदै गर्दाको भिडियो उनले ट्विटरमा पोस्ट गरेका छन् । भिडियो सँगै अनुपम लेख्छन्, “आमाले बुन्नु भएका स्वेटरहरू । उहाँ यी स्वेटरहरू म आफैँले उपहार स्वरूप देओस् भन्ने चाहन्थिन् । मैले लुक्लाका बालबालिकालाई बोलाएर उनीहरू लाई मनपर्ने रङगको स्वेटर छान्न भने । उनीहरू धेरै खुसी भए र चिच्याउँदै दुलारी धन्यवाद अनि दुलारी रक्स भने ।”

स्वेटर उपहार दिँदै अनुपमले ती बालबालिकासँग रमाइलो कुराकानी पनि गरे । अहिले अनुपम निर्देशक सुरज बडजात्या र बोमन इरानी, परिणिती चोपडा लगायत भारतीय टिमसँग नेपालमा छन् । ३ अक्टोबरमा नेपाल आएका उनीहरू ४० दिन नेपालमा रहनेछन्। यस चलचित्र काठमाडौँ, लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायत स्थानमा सुटिङ गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्