सरकारी कार्यालय जहाँ रातिसम्मै काम हुन्छ !

सोलुखुम्बु । पुस महिनाको दिन,साँझको समय, तीन डिग्री सेल्सियसमा तापक्रम, हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीका अधिकांश होटल पसलको ढोका ५।३० बजे नै बन्द हुनुका साथै सडकमा चहलपहल ह्वात्तै घट्छ। अझ सर कारी कार्यालय र कर्मचारीको कुरा गर्ने हो भने बेलुकीको खाना खाएर सुत्ने तरखरमा हुन्छन्। तर जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा भने राति आठ बजेसम्म सेवा प्रवाह हुन्छ।

पुस महिनामा सरकारी कार्यालय समय बिहान १०देखि ४ बजेसम्म हो। अधिकांश सरकारी कार्यालयका कर्मचारीले चार बज्ने बित्तिकै कार्यालय समय सकिएको भन्दै सेवाग्राहीको बाँकी काम भोलि बिहान १० बजे हुने जवाफ दिँदै ढोका बन्द गर्छन्। सरकारी कर्मचारी को यस्ता व्यवहार देखेभोगेका ग्रामीण क्षेत्रका नागरिक जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु पुग्दा फरक अनुभूति हुने गरेको सुनाउँछन्।तल्लो तहका कार्मचारी देखि प्रमुख जिल्ला अधिकारी सम्मको व्यवहार र सेवा प्रवाह गर्ने शैलीले सेवाग्राही प्रफुल्लित मुद्रामा कार्या लयबाट निस्कन्छन्।

आइतबार साँझ ६ बजेको समयमा थुलुङ दूधकोशी गाउँपालिका–६ का सूर्य बानियाँ पेन्सनपट्टाको लागि सिफारिस लिँदै गरेको अवस्थामा प्रशासन कार्यालयमा भेटिए। प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीलगायत अन्य कर्मचारीसमेत त्यो समयमा पनि कार्यालय कै काममा व्यस्त थिए। सेवाग्राही बानियाँले धन्यवाद दिँदै भने, ‘हजुरजस्तो सिडिओ साब अनि अन्य सबै कार्यालयका कर्मचारी यस्तै भएको भए त गाउँघरका हामी जस्ता मानिसले कत्ति सहजै सेवा पाइन्थ्यो हजुर।’ सेवा गर्ने इच्छाशक्ति भए समयले नछेक्ने बानियाँ को बुझाइ छ।

‘यहाँ राष्ट्रसेवक कर्मचारी १० नबजेर कार्यालय नजाने र ४ नबज्दै सेवाग्राहीको बेवास्ता गर्दै निस्कने प्रथाले सानो कामले गर्दा पुनः अर्को दिन त्यही कार्यालयमा जानुपर्छ’, बानियाँले भने, ‘सोलुखुम्बु प्रशासन जस्तै अन्य ठाउँका कार्यालयले पनि सिक्नुपर्छ र मन्त्रालय अनि नेपाल सरकारले पनि यस्ता कर्मचारीलाई छट्टै मूल्याङ्कन गरी पुरस्कार दिने व्यवस्था गर्नु पर्छ।’ नागरिकको सेवामा कार्यालयको समय मात्र नभनिकन काम गर्ने कर्मचारीको उचित मूल्यांकन हुनुपर्ने उनको माग छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु पुग्ने जो कोहीले पनि अहिले कर्मचारी र कार्यालयको सेवा प्रवाहप्रति खुसी व्यक्त गर्छन्।

सीमित जनशक्तिको बीचमा पनि सेवा प्रवाह सहज र सरल बनाइँदा कर्मचारी धन्यवादका पात्र बनेका छन्। दैनिक दुईसय जना सेवाग्राही विभिन्न सेवा लिन जिल्ला प्रशासन कार्यालयमा पुग्ने गरेका छन्। हाल कार्यालयमा प्रमुख जिल्ला अधिकारी सहित दुई खरिदार, एक लेखापाल, दुई कम्प्युटर अपरेटर र एक सहायक प्रमुख जिल्ला अधिकारी कार्यरत छन्। चार नायब सुब्बा, एक लेखा पाल र दुई खरिदारको पद खाली रहेको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताए । कर्मचारी अभावले गर्दा जिल्ला कारागारका प्रमुख प्रशान्तकुमार महतोलाई समेत सहयोग माग्ने गरेको उनको भनाइ छ। प्रमुख महतोले पनि प्रमुख जिल्ला अधिकारीको अनुरोधमा नागरिकको सेवा गर्न पाएकोप्रति खुसी व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्