मन्त्री श्रेष्ठको प्रस्ताव : ‘महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनियोस्’

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनिनु पर्ने तर्क गरेकी छन् । ‘नेपालका हरेक पक्ष पुरुषको दृष्टि कोणबाट मात्र हेरिएको छ,’ साझा प्रकाशनको २५ औं वार्षिक साधारण सभामा ‘व्यत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ सार्वजनिक गर्दै मन्त्री श्रेष्ठ भनिन्, ‘शब्दकोशमा समेत महिला मन्त्री हुने त कल्पनै गरिएको पाइएन ।

पुरुष मन्त्रीकी पत्नीलाई मन्त्रिणी भनिएको छ । महिला मन्त्रीको पतिलाई के भन्ने ? सोचिनु पर्दैन ? त्यसैले अबदेखि मन्त्रो भनेर शब्दकोशमा राखियोस्।’ नेपाली वाङ्मय साधकहरूले पुरुषप्रधान परिकल्पना मात्र गर्न नहुनेसमेत उनले बताइन् । भनिन्— ‘नेपाली वाम ङ्मय साधकहरूले पुरुषप्रधान परिकल्पना मात्रै गरेको गरेको पाइन्छ । अब यसलाई पनि हेर्नुपर्ने हुन्छ ।’

त्यस अवसरमा यसअघि घोषणा गरिएका तथा लामो समय देखि स्थगित रहेका सम्मान तथा पुरस्कार दस जना स्रष्टालाई प्रदान गरिएको थियो । ५१ हजार रुपैयाँ राशिको ‘साझा पुरस्कार’ बाट ठाकुर बेलबासे र जय छाङ्छाले पाएका छन् । त्यसैगरी ‘साझा बाल साहित्य पुरस्कार’ शारदारमण नेपाल र गोपाल पराजुलीलाई दिइएको छ । यस्तै ‘साझा लोकसंस्कृति पुरस्कार’बाट डा. भोला झा, कुसुमाकर न्यौपाने, प्रा.डा. कुलप्रसाद कोइरालाल सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्