तीन वर्षमा तीन गुणा बढ्यो जोन अब्राहमको पारिश्रमिक !

मुम्बई । अभिनेता जोन अब्रहामले चलचित्र ‘एक भिलेन रिर्टन्स’का लागि २१ करोड भारु पारिश्रमिक पाएका छन्। चलचित्र ‘सत्यमेव जयते’ र ‘बाटला हाउस’को सफलतापछि अभिनेता अब्रहामले आफ्नो पारिश्रमिक बढाइरहेका छन् । चल चित्र ‘पठान’का लागि २० करोड पारिश्रमिक लिएका उनले त्यसको एक महिनालगत्तै ‘एक भिलेन रिर्टन्स’मा २१ करोड पारिश्रमिकमा सम्झौता गरेका छन् ।

एक स्रोतलाई उद्धृत गर्दै बलिउड हंगामाले लेखेको छ, “उनको बजार भाउ उकालो चढिरहेको छ । बाटला हाउसमा पाएको पारिश्रमिक सत्यमेव जयते भन्दा बढी थियो। एसएमजी २ मा पाएको पारिश्रमिक बाटला हाउस भन्दा बढी थियो । पठानका लागि पाएको पारिश्रमिक एसएमजी २ भन्दा बढी थियो । अन्तत: एक भिलेन रिर्टन्सको पारिश्रमिक पठानको भन्दा बढी छ । पछिल्लो ३ वर्षयता जोनको अभिनयको पारिश्रमिक ७ करोड ‍बाट २१ करोड पुगेको छ ।”

यस अर्थमा पछिल्लो तीन वर्षमा कोरोना महामारीका बाबजुद पनि उनको पारिश्रमिक तीन गुणाले वृद्धि भएको छ। ‘एक भिलेन रिर्टन्स’ २०२२ जुलाई बकर ईदको मौका छोपेर रिलिज गर्ने तयारी रहेको छ । चलचित्रमा जोन अब्राहमका साथै, अर्जुन कपुर, दिशा पटानी र तारा सुतारिया मुख्य भूमिकामा छन् । मोहन सुरीको निर्देशन रहेको चलचित्र ‘एक भिलेन’ को सिक्वेल हो । छायांकन सकेर चलचित्र यतिबेला पोस्ट प्रोडक्सनको काममा छ । बलिउड हंगामाबाट

प्रतिक्रिया दिनुहोस्