कुश्मामा संसारकै दोस्रो अग्लो बञ्जी

काठमाडौं : सिन्धुपाल्चोकको भोटेकोशी नदीमा द लास्ट रिसोर्टले सञ्चालन गरेको बञ्जी देशकै प्रख्यात साहसिक पर्यटकीय गन्तव्य बन्न पुग्यो। धेरैको चाहना थियो देशका अन्य ठाउँमा पनि यस्तै साहसिक पर्यटकीय गन्तव्य बनून। यस्तै चाहना लाई पूरा गर्न पर्वतको कुश्मामा संसारकै दोस्रो अग्लो बञ्जी जम्प बन्दैछ ।

अबको दुई महिनामा सञ्चालनमा आउने यो बञ्जीले साहसिक पर्यटकीय गन्तव्यमा नयाँ इँटा थप्ने बताउनु हुन्छ, द क्लिफ प्रालीका प्रमुख राजु कार्की। ‘म पहिलेदेखि यस्तै क्षेत्रमा लागिरहेको मान्छे हो, नेपालको पर्यटन उद्योगमा केही नयाँ दिउँ भन्ने लागेर हात हाले का छौँ, अहिलेदेखि नै सकारात्मक प्रतिक्रिया पाएकाले यसको सफलतामा हामी ढुक्क छौँ’, द क्लिफ प्रालीका प्रमुख राजु कार्कीले भन्नुभयो ।

पवर्त र बागलुङ जोड्ने पुलमा बन्ने बञ्जीको उचाइ दुई सय २५ मिटर अग्लो हुने छ । मकाउमा रहेको विश्व कै सबैभन्दा अग्लो बञ्जीको उचाइ दुई सय ३५ मिटर रहेको कार्कीको दाबी छ । भोटेकोशीको साथै कास्कीको पोखरामा पनि यसअघि नै बञ्जी सञ्चालनमा आएका छन् र सफल पनि भइरहेका छन् । सञ्चालनमा रहेका बञ्जीमा भन्दा कुश्माको बञ्जीमा फरक ‘फिल’ हुने कम्पनीको दाबी छ ।

पर्यटन ऐनमा उल्लेख भएअनुसार बञ्जी, क्यानोनिङ, स्काइ डाइभिङ, जीप फ्लाइङ, प्याराग्लाइडिङ, बेलुनिङ केबलकार, अम्युजमेन्ट पार्क र फनपार्क साहसिक पर्यटन उद्योगमा पर्छन। पर्यटन विभाग २०७१ सालमा स्थापना भएकाले यसभन्दा अघि खुलेका यस्ता उद्योगले पर्यटन विभागमा दर्ता हुनु नपर्ने भएकाले पर्यटन विभागसँग कुन क्षेत्रमा कति उद्योग सञ्चालनमा छन् भन्ने यकिन तथ्याङ्क छैन ।

अहिले पर्यटन विभाग अन्तर्गत तीन वटा स्पीड जेट बोट, अल्ट्रा ट्रेल रेस नाै वटा, रक क्लाइमिङ एउटा, क्यानोनिङ एउटा मनोरञ्जन पार्क एउटा र बञ्जी जम्प दुई वटा गरी १७ वटा सा’हसिक पर्यटकीय उद्योग सञ्चालनमा रहेका छन् । यस्तै नेपाल नागरिक उड ड्यन प्राधिकरण अन्तर्गत झण्डै एक सय प्याराग्लाइडिङ कम्पनी, एउटा हट एअर बेलुन र केही अल्ट्रालाइट उडान सञ्चालनमा छन् ।

हिमाल पहाड, नदीनाला, मठमन्दिर र जनजीवन देखाएर पर्यटक भित्र्याउने नेपालमा अब साहसिक गन्तव्यहरु धमाधम बनिरहेका छन् । जसले नेपालमा पर्यटक बढाउने मात्र होइन, यो क्षेत्रलाई दिगो बनाउन मद्दत गरिरहेका छन् । नेपालमा बढ्दै गरेका साहसिक पर्यटनका नयाँ नयाँ गन्तव्यहरुले स्वदेशी र विदेशी पर्यटकलाई लोभ्याउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्