बन्यो तीन वटा जिल्ला जोड्ने तीनमुखे पुल, बढ्यो जश लिनेहरूको हुल

काठमाडौं : गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल कालीगण्डकी नदीमा तीनवटै जिल्ला जोड्ने गरी बनाइएको तीनमुखे पुल लाईटिङ्ग बाहेक अन्य सम्पूर्ण कार्य सम्पन्न भएको छ । २०७१ मंसिर १५ मा तत्कालीन सांसद तथा काँग्रेस नेता चन्द्र भण्डारी र तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालद्वारा संयुक्त रुपमा शिलान्यास गरिएको उक्त पुल झण्डै चार बर्ष सम्म अलपत्र परेको थियो ।

त्यसरी पुल निर्माण कार्य अलपत्र हुँदाको अपजश कुनै दलका नेताले लिएनन् । बरु एकले अर्कोलाई अपजसको शब्द बाण हान्न लजाएनन्। यतिबेला भने उक्त पुल निर्माण कार्य सम्पन हुनै लाग्दा सामाजिक सञ्जालदेखि चुनावी भाषणसम्म जश लिन खोज्ने दलका नेता र कार्यकर्ताहरुको तँछाड मछाड छ । तिनमुखे पुलको परिकल्पनाकार भने यति बेला ओझेलमा छन् । उनी हुन्, रिडी नजिकै बलेटक्सार घर भएका पूर्व मुख्य सचिव लीलामणि पौड्याल ।

उनले बाल्यकालमा पाल्पामा पढ्न जाँदा रिडीमा काठको फ्ड्केबाट वारपार गर्दा कैयौ मानिस चिप्लिएर लडेको र खोलाले बगाएको देखेका थिए । उनी स्वयम् पनि २०३१ साल तिर लडेर केही तलसम्म खोलाले बगाएको संझिन्छन्। चीनका लागि पूर्वराजदुत समेत रहेका पौड्याल भन्छन्, ‘मुख्य सचिव भएपछि तीनवटै जिल्ला जोड्ने गरी पुल निर्माण गरौं भन्ने सोच आयो । डिजाईन गर्न केही ईन्जिनियरहरुलाई भने ।

कोही फेल नपर्दा निर्माणको जिम्मा लिने कम्पनीलाई नै डिजाईनको जिम्मा दिने गरी टेण्डर आह्वान गरिएको थियो।’ नयाँबाटो रुबिना मना जेभीले ९ करोड ८८ लाख २६ हजार ३३२ रुपैयाँमा उक्त पुलको ठेक्का सम्झौता गरेको थियो। जेभीले कामको जिम्मा जलप नेपाललाई २०७५ सालमा दिएको थियो । जलप नेपालका साईड इन्चार्ज करन बर्माका अनुसार लाईटिङ्ग जडानका लागि बुटवलबाट प्राविधिकहरु यसै साता आइपुग्ने छन् ।

समुद्री सतहदेखि १२ मिटर ईचाईमा पुल बनेको छ । २५ मिटर उचाई सम्म पिलर पुुगेको छ भने त्यसको दुुई मिटर उचाईमा अर्थात् २७ मिटर उचाईमा भ्यूटावर बनाईएको छ। तीन जिल्लाको तीनैतिर १७७ मिटर लम्बाई छ । पुलको दुबैतिर जाली, लाईटिङ्ग, टपमा सोलर, भर्याङ्ग र आकर्षक रेलिङ्ग निर्माण गरिदै छ । भ्यूटार बीचमा रष्ट्रिय झण्डा गाडिने भएको छ ।

गुुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष रामलाल विकका अनुुसार पुल हेर्न आउनेहरुको भीड दिनहँु बढ्न थालेको छ । तीनैतर्फ लाईटिङ्ग जडानपछि रिडी बजार झिलिमिली हुनेछ। पूर्व मुख्य सचिव पौड्यालका अनुसार रिडीको तीनमुखे पुल नेपालकै पहिलो तीनमुखे पुल हो । पुलबाट गुल्मीतर्फ रिडी बजार, पाल्पातर्फ तानसेन नगरपालिका–१४ अर्गली र स्याङ्गजातर्फ कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ्ग जोडिन्छ ।

प्रतिक्रिया दिनुहोस्