काठमाडौंमा रातभर वर्षा, आज पनि दिनभर देशभरि पानी पर्ने

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेकाे छ। मौसम पूर्वानुमान महा शाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा त बिहीबार रातभर वर्षा भएको छ। अहिले (शुक्रबार बिहान)सम्म वर्षा जारी नै छ। वर्षाले काठमाडौंका सडक भिजेका छन् भने खाल्डा खुल्डीमा पानी जमेका छन्।

पिच नभएका सडक हिलाम्मे भएका छन्। यतिबेला काठमौंका सडकमा मानिस छाता ओढ्दै तथा रुझ्दै हिँडेको देखिन्छ। तराई क्षेत्रमा पनि उत्तिकै वर्षा भएको छ। सर्लाहीकाे हरिवन निवासी पत्रकार टंक क्षत्रीले फेसबुकमा लेखेका छन्- झण्डै ३ घण्टादेखि वर्षायाम झल्काउने गरी झम्के झरी! ‘कति मिलिमिटर वर्षा भयो भन्ने तथ्यांकचाहिँ केहीबेरपछि आउनेछ’

मौसमविद् श्रेष्ठले शुक्रबार बिहान भने, ‘देशका अन्य स्थानमा पनि वर्षा कहाँ र कति भयो भन्नेबारे जानकारी पनि हामी केहीबेर पछि प्रकाशन गर्नेछौं।’ तैपनि देशका अधिकांश स्थानमा वर्षा भएको उनको अनुमान छ । ‘यसपालि चाहिने भन्दा बढी नै हिउँदे वर्षा भएको अनुमान छ,’ उनले भने, ‘विगतका वर्षभन्दा बढी हो होइन भन्नचाहिँ तथ्यांक आएपछि मात्रै सकिन्छ।’

यसैगरी देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपता भइरहेकाे माैसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) पनि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपात हुने सम्भावना छ। महाशाखाले शुक्रबार बिहान प्रकाशन गरेको बुलेटिनमा भनिएको छ : पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ।

मध्य र पूर्वी क्षेत्रमा आज दिनभर वर्षा हुने : आज पनि दिनभर देशभर जसाे वर्षा हुने मौसम विद्ले अनुमान गरेका छन्। महाशाखा कै अर्का मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा रहेकाले आज पश्चिम क्षेत्रमा दिउँसोदेखि वर्षा कम हुनेछ भने मध्य र पूर्वी क्षेत्रमा दिनभर वर्षा हुने सम्भावना छ।

नेपालखबरले पुनः शुक्रबार बिहान ७ बजे सम्पर्क गर्दा मौसमविद् मानन्धरले काठमाडौंस्थित त्रिभुवन विमानस्थल क्षेत्रमा १५ मिलिमिटर वर्षा भएको जानकारी दिइन्। ‘उपत्यकाभरिकै तथा देशका १६ स्टेसनको तथ्यांकचाहिँ हामी ८ः४५ बजेमात्रै आइपुग्छ।’ महाशाखाले अरू २४ घण्टा वर्षा तथा हिमपात नराेकिने अनुमान गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्