१५ सय तिर्न नसकेर स्कुलबाट निकालिएका क्षितिजले ३३ केटाकेटीको पाँच वर्षको स्कुल खर्च बेहोर्ने प्रतिबद्धता

काठमाडौं : ‘जम्मा १५ सय रुपैयाँ तिर्नुछ भनेर पनि सम्झन सक्दैनस् ?’ करिब १५ वर्षअघि स्कुलमा त्यो रकम तिर्न नसक्दा निकालिएको घटना क्षितिजराज लोहनीलाई ताजा छ। कक्षा ६ पढ्ने सानो क्षितिजको दिमागमा झन् त्यो कुरा जक डिएर बसेको थियो। त्यतिखेरै संकल्प लिएका थिए, ‘कमाउने भएपछि मजस्ता सबैको पैसा तिर्छु।’ आफ्नो सपना पछ्याउँदै- पछ्याउँदै क्षितिज अमेरिका पुगे।

संसारकै धनी कम्पनी एप्पलमा ‘सफ्टवेयर इञ्जिनियर’ का रूपमा कार्यरत छन्। बेला–बेला नेपाल आउने उनी गत दुई महिना नेपाल बसेर फर्किए। यो बसाइमा उनले सानो बेलाको संकल्प पूरागर्ने प्रयास पनि गरे। बुढानिलकण्ठ स्थित श्री भद्रकाली स्कुलका विपन्न परिवारका ३३ केटाकेटीको एक वर्षको पूरै खर्च तिरिदिए। त्यसका साथै पाँच वर्षसम्मको पढाइ खर्च बेहोर्ने प्रतिबद्धता जनाएर गए।

‘हाम्रो परिवारसँग कुनै बेला जम्मा १५ सय तिर्न सक्ने हैसियत थिएन। स्कुलको व्यवहारले मलाई साह्रै चित्त दुखेको थियो,’ सानो हुँदाको घटना सम्झँदै भने, ‘त्यो बेलाको केटौले जोशमा म जस्ता सबैको पैसा तिरि दिन्छु भनेको थिएँ। त्यो त नसकिएला, तर जति सक्छु, त्यति भने तिर्छु। मलाई जे भयो, भविष्यमा अरूलाई नहोस्।’ क्षितिजका बुवा पनि इञ्जिनियर हुन्। धापासीमा उनीहरूको घर थियो रे।

सुरुआतमा राम्रै थियो। माओवादी द्व’न्द्वकालमा बुवाको जागिर गयो, पछि घर, विस्तारै सबैकुरा। बालख क्षितिजलाई भने यो कुराको चालै थिएन। खेल्ने, कुद्ने र बदमासी नै जीन्दगी। सानोमा खासै पढ्न नरूचाउने उनले कक्षा १०सम्म आइसक्दै ८ वटा स्कुल फेरि सकेका थिए। कुनैमा बदमास भएकाले निकालिए, कुनै स्कुल मन नपरेर छाडे, कुनै टाढा भएकाले, त कुनैमा के…।

पढ्न भनेपछि उनलाई फिटिक्कै मन नलाग्ने। पढ्न नपर्ने भएपछि जे पनि गर्न तयार। आमाबुवाले पढाइमा उनको चासो नदेखेपछि मनपर्ने अन्य गतिविधिमा सामेल गराउन चाहे ‘पढ्नु पर्दैन भन्ने भएपछि मैले कक्षामा को नाच्छ भन्दा हातसमेत उठाएको थिएँ’ उनले भने, ‘आमाले त एकपटक कुर्ता-सुरुवाल बेचेरै तेक्वान्दोको लुगासमेत किनिदिनुभएको थियो। तेक्वान्दो होस् वा जिम्न्यास्टिक वा फुटबल, सबै पढ्न नपर्ने भएकै कारण मेरो मनपर्ने विषय थिए।’

बाध्यताले स्कुल फेर्नु एक कुरा, निकालिएपछि भने उनलाई नराम्रो चस्का पर्‍यो। जीवनमा केही नराम्रै भइरहेको छ भन्ने महशुस गरे। त्यो घटनाका कारण घरमा आमाबुवा रोइरहेको देख्दा दिमागले सोच्यो– क्षितिज, यसरी हावा भएर जीन्दगी चल्दैन। त्योभन्दा बढी स्कुलबाट निकालिँदा प्रधानाध्यापकले ‘१५ सय रुपैयाँ पनि तिर्नुपर्छ भनेर सम्झन सक्दैनस्?’ भन्ने शब्द बारम्बार उनले सम्झिरहे।उनलाई रिसभन्दा बढी चित्त दुखेको थियो।

प्रतिक्रिया दिनुहोस्