५१ औं दिन मनाउँदै ‘कबड्डी ४’, कति कमायो अहिलेसम्म ?

काठमाडौं : एक समय लगभग प्रायः फिल्मले हलमा प्रदर्शनको ५१औं दिन सजिलै मनाउने गर्थे । केही फिल्मले त रजत जयन्ती पनि मनाउने गरेका थिए । तर, एनलगको जमानाको अन्त्यपछि नेपाली फिल्मका लागि ५१औं र सय दिनको उत्सव दुर्लभ बनेको छ । दुई-चार वर्षमा एकाध फिल्मले भने जेनतेन ५१औं दिन मनाउने गरेका छन् । तर, प्रायः फिल्म थिएटरमा एक हप्ता पनि टिक्न सक्दैनन् ।

करीब तीन वर्षपछि एक नेपाली फिल्मले प्रदर्शनको ५१औं दिने यात्रा पार गरेको छ । जेठ १३ गतेबाट प्रदर्शनमा आएको ‘कबड्डी ४’ले शनिवार ५१औं दिन मनाएको हो । फिल्मले राजधानीका ९ वटा सिनेमा हलमा ५१औं दिन मनाएको निर्माण टिमले जानकारी दिएको छ । नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड समेत ‘कबड्डी ४’ले आफ्नो नाममा लेखाएको छ ।

दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ३’को २० करोडको ऐतिहासिक रेकर्डलाई ध्वस्त पार्दै फिल्मले शुक्रवार (५० दिन) सम्म २२ करोड ८३ लाख ग्रस कमाएको जानकारी प्राप्त छ । घरेलु बजारमा यो अंक जोड्ने ‘कबड्डी ४’ पहिलो नेपाली फिल्म बनेको छ । निर्माता मणिराम पोखरेलले अहिले पनि हलमा फिल्म हेर्ने दर्शक राम्रो रहेको बताए ।

‘कबड्डी ४’ले नेपालसँगै अष्ट्रेलियामा पनि प्रदर्शनको ५१औं दिने ऐतिहासिक सफलता हासिल गरेको छ । प्रवासमा नेपाली फिल्मले ५१औं दिन मनाएको यो पहिलो पटक हो । फिल्मले अष्ट्रेलियामा ४ करोड ग्रस कमाई गरेको जानकारी अष्ट्रेलिया राइट्स खरिद गरेका रोशन भट्टराई विनोद पौडेलले दिएका छन् । फिल्मको अझै अष्ट्रेलियाका विभिन्न शहरमा ठूलो माग रहेको रोशनले बताए ।

‘कबड्डी’को अन्तिम सिरिज भएकाले पनि बक्सअफिसमा आक्रामक कमाईसँगै ‘कबड्डी ४’ लामो रेसको घोडा बन्न सफल भएको हो । रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्